“२५औं अन्तर्राष्ट्रिय युवा दिवस” तामझामका साथ मनाईदैं, नेपाली युवा भने विदेशमा …
– राजु बिक्रम चाम्लिङ
युवा भनेको शक्ति हो । जुन युवा शक्ति समुदाय र राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा वर्ग राज्यको अग्रसर स्रोत र परिवर्तनको वाहक शक्ति पनि हो । युवाहरू आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा नीति २०६६ तथा संशोधित नीति २०७२ ले तय गरेको युवाको १६–४० वर्ष उमेर समूहलाई युवाको परिभाषाभित्र पारेको छ (स्रोतः राष्ट्रिय युवा नीति २०६६, संशोधीत २०७२) । तर पनि नेपालको सन्दर्भमा युवाहरुलाई परिभाषामा मात्रै सिमित गरिएको छ । नत राज्यले युवाहरुलाई व्यवस्थापन गर्न सकेको छ, न वैदेशिक रोजगागरीबाट रोक्न सकेका छन्, नत प्रयोग गर्न सकेका छन्, नत यहाँ युवाहरुले राज्य भएको अनुभव गर्न पाएका छन् । सीमित युवाहरु अर्थ, विरासत र राजनीतिक शक्तिको आडमा आफुलाई नेपालमा व्यवस्थापन गर्न सकेका छन्, अन्यथा अपवाद वाहेक युवाहरुले आफुले गर्व गर्न लायक भएर देशको स्वाभिमान सहित देशमा नै वस्न सक्ने अवस्था नै महशुष गरेका छैनन् । युवाहरुलाई राज्यले प्रयोग गर्न नसक्नु, युवाहरु देशमा बस्न नसक्नु यो नेपाल देशको लागी र युवाहरु आफ्नै लागी ज्याँदै विडम्बना हो । यसको प्रतिफल अझै नेपाल वषौंवर्ष विकासको हिसाबले पछाडी नै पर्ने देखिन्छ ।
सन् १९९८ को अगष्टको ८ देखी १२ तारिखमा संयुक्त राष्ट्रसंघको समन्वयमा पोर्चुगलको लिसवनमा १४० राष्ट्रहरुका युवा मामिला हेर्ने मन्त्रीहरुको सहभागितामा विश्व सम्मेलन भएको थियो । सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिवद्धता सहित ८८ बुँदे लिसवन घोषणापत्र जारी गरेको थियो । सन् १९९९ को डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको ५४औं महासभाले उक्त प्रस्ताव अनुमोदन गरेपछि सन् २००० बाट हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो । यो दिन विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस फरक फरक तरिकाले मनाइन्छ (स्रोतः वर्ड ईण्डिजिनियस युड ककस) ।
नेपालमा पनि विगतमा झैं अन्तर्राष्ट्रिय युवा दिवस तामझामका साथ मनाउन, १२ अगष्ट २०२४ लाई (२०८१ श्रावण २८) भव्य रुपमा सफल बनाउन युवा तथा खेलकुदमन्त्री मा. तेजुलाल चौधरीको अध्यक्षतामा ३७१ सदस्यीय “अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति” गठन गरिएको छ । मुख्य कार्यक्रमको उद्घाटन कार्यक्रममा सम्मामननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको छ । यस वर्षको मुख्य नारा “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच”, Youth Digital Pathways for Sustainable Development (https://www.un.org/en/observances/youth-day) भन्ने संयुक्त राष्ट्रसंघको युवा हेर्ने निकायले तयार गरेसँगै, यसलाई विश्वभरमा सफल पार्न तयारीसँगै, नेपालमा पनि यस नारालाई सफल बनाउन मा. मन्त्रीज्यूको नेतृत्वमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष, मन्त्रालय सम्वद्ध निकायका कार्यकारी प्रमुखहरु, विभिन्न संघीय मन्त्रालयका प्रतिनिधि, संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयका प्रतिनिधि, प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सबै प्रदेशका युवा परिषदका उपाध्यक्ष, युवा केन्द्रित संघसंस्थाका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधिलगायत रहेका छन् । साथै विभिन्न युवा तथा विद्यार्थी संगठनका प्रतिनिधि, परिषदसम्वद्ध युवा संजालका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र परिषदका सबै जिल्लाका युवा समितिका अध्यक्ष समेत समितिमा रहेका छन् । (स्रोतः राष्ट्रिय युवा परिषद) ।
हरेक बर्षको युवा दिवसको नारा राष्ट्रसंघले तयार गर्ने गरेको छ । विगतका वर्षहरुको अन्तर्राष्ट्रिय युवा दिवसको नारा “विश्व अभियानका लागी युवा सहभागीता” Youth Engagement for Global Action, “खाद्य प्रणालीमा रुपान्तरतणः मानव र भूमण्डलिय स्वास्थ्याका लागि युवा नवप्रर्तन” “Transforming Food Systems: Youth Innovation for Human and Planetary Health”, लगायत हरेक वर्ष फरक फरक नाराहरु रहेका छन् । खासगरी अन्तर्राष्ट्रिय दिवसको अवसरमा युवाहरुलाई राज्यको सबै नीतिगत तथा निर्णायक तहहरुमा अर्थपुर्ण सहभागीताको लागी समन्वय र सहकार्य गर्न आवाज उठाउँदै यसलाई अवसरको रुपमा सदुपयोग गर्दै आएको पाइन्छ । हरेक वर्ष संयुक्त राष्ट्रसंघले तयार गर्ने नारा दिगो विकासका लक्ष्यलाई आधार मानेर तयार गर्ने गरेको पाइन्छ । जसमा गएको वर्षको नारा “विश्व अभियानका लागी युवा सहभागीता” रहेको थियो (https://www.un.org/en/observances/youth-day) हरेक बर्षको नारालाई आधार बनाएर त्यसलाई बर्ष भरीमा पुरा गर्ने उद्धेश्यका साथ कार्यान्वयनमा समेत अगाडी बढाइन्छ । तर पनि नेपालको सन्दर्भमा नाराहरु नारामै मात्र सीमित भइराखेको छ । १२ अगष्टको दिन् र्याली निकाल्ने, भाषण गर्ने त्यो भन्दा धेरै केही परिबर्तन भएको छैन । यसकारण जसरी युवा लक्षित कार्यक्रमहरु गर्नुपर्ने, रोजगारी कै अथवा विहान र वेलुका छाक तार्न कै लागी आम नेपाली युवाहरु लागी विदेश जानुपर्ने अवस्था छ, यसलाई न्युनीकरण गर्न युवा लक्षित चेतना, सिपमूलक र स्वरोजगारमुखी कार्यक्रमहरु युवा परिषद र युवा मन्त्रालय तथा सम्बन्धित मन्त्रालयको युवा शाखाले ल्याउन आवश्यक छ ।
नेपालको सन्दर्भमा जस्तो सुकै अवस्थामा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइ राखिएको छ । जस्तो नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत रहेको राष्ट्रिय युवा परिषदको आयोजनामा सप्ताहव्यापी रुपमा सरकारी निकायहरु, विभिन्न जातिय संगठनका युवा संगठनहरु, सामाजिक तथा गैरसरकारी युवा संगठनहरु र राजनीतिक युवा संगठनहरुको सहकार्यमा विभिन्न कार्यक्रमहरु संञ्चालन गरे । विश्वले भोगेको समय कोभिड–१९ को समयमा पनि भर्चुअल मार्फत पनि युवा दिवस मनाइयो । विगतमा युवा दिवसको अवसरमा निवन्द लेखन प्रतियोगिता, रक्तदान, विरुवा रोप्ने, युवा संवाद, सरसफाई अभियान लगायत कार्यक्रमहरु सम्पन्न भएको । साथै युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतिष्पर्धा लगायत कार्यक्रमहरु गरिंदै आएको छ । नेपाल सरकार युवा मन्त्रालयको तथ्यांक अनुसार नेपालको जनसंख्याको ४०.३% युवाहरुको रहेको छ । यसलाई आधार मान्दा, नेपालको कुल युवाहरुको जनसंख्या १ करोड १७ लाख ५३ हजार ३२५ रहेको छ (राष्ट्रिय तथ्यांक विभाग, जनगणना २०७८) । यो कुल युवाहरुको संख्यामा त्यसको ३५% बढी आदिवासी युवाहरुको संख्या रहेको छ । यो भनेको साडे ४१ लाख युवाहरु आदिवासी युवाहरु छन् । तर केही युवा वुलेटिन पत्रिकाको अनुसार नेपालमा कुल युवाहरुको जनसंख्या ४२% प्रतिशत रहेको छ । जसमा नेपालको कुल युवाहरुको संख्या मध्ये ४० वष मुनीका युवाहरु ६० लाख बढी विदेशमा छन् । यसलाई आधार मानेर निम्न स्तरको रोजारीको लागी नै जाने युवाहरु मध्ये ६०% आदिवासी युवाहरु रहेका छन् (आदिवासी युवा वुलेटिन २०८०) । यो ज्याँदै दुःखद कुरा हो । यसकारण समग्र देश विकास नहुनुमा अस्थिर राजनीतिको कारण हो । र नेपालको कुल जनसंख्याको ३०% दैनिक रोजीरोटीको लागी समस्यामा छन् । त्यसमा पनि ६०% बढी जनसंख्या आदिवासी समूदायहरु नै रहेका छन्, (आदिवासी वुलेटिन २०८०) । यसकारण नेपालमा रहेको बर्तमान समस्या चुनौतीहरु समूदायको हिसाबले आदिवासीहरु, युवाको हिसाबले आदिवासी युवाहरुले भोग्नु परिराखेको तीतो यर्थाथ रहेको छ ।
नेपालमा, युवा लक्षित कार्यक्रमको लागी संघमा युवा मन्त्रालय, हरेक प्रदेशमा युवासँग सम्बन्धित मन्त्रालय, संघमा राष्ट्रिय युवा परिषद, युवा स्वरोजगार कोष लगायत तथा हरेक जिल्लामा जिल्ला युवा परिषद सरकारी संयन्त्रहरु रहेर पनि त्यहाँ रहेर युवा लक्षित कार्यमलाई वेवास्ता गर्दै झारो तार्ने काम मात्रै भएको छ । यो ज्याँदै दुःखद कुरा पनि हो । युवाको शिर्षकमा बनेको मन्त्रालय र सम्बन्धित सरकारी निकायहरुमा हजार बढी निजामति कर्मचारीले आफ्नो सेवामा जागिरको रुपमा स्थापित भएका छन् । यही युवाको शिर्षक अरबौं खर्च नेपाल सरकारबाट छुटाएको छ । नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र, सदस्य राष्ट्र भएको तथा युवा लक्षित कार्यक्रममा संयुक्त राष्ट्र संघले तयार गरेर, विश्वले युवा दिवस मनाइरहँदा नेपामा भने वेवास्ता भएको पाइन्छ ।
युवाको परिभाषा हरेक देशहरुमा फरक हिसाबले राज्यको लगानी, राज्यले प्रयोग गर्ने हिसाबले वर्गीकरण गरिएको छ । तर नेपालमा भने विश्वको नै सबै भन्दा माथिल्लो उमेर समूह नेपालको तोकिएको छ । यो विशेष त राजनीतिक कारण नै हो । तर युवाको उमेर, सामान्य हिसाबले युवा भनेर परिभाषित हुने भन्दा माथि राख्दैमा नत त्यो उमेर समूह ४० आसपासकालाई फाइदा छ, नत युवाहरुलाई नै । सामान्यतया अन्य मुलुकहरुको युवाहरुको उमेर बढीमा ३५ वर्ष भन्दा कम रहेको छ । जस्तो, भारतमा १५–२९ वर्ष, श्रीलंका र वंगलादेशमा १५–२९, अफगानिस्तान १८–३५, माल्दिभ्स १८–२४, भुटान १३–२४, अमेरिका १५–२४, चीन १४–२९, संयुक्त राष्ट्रसंघ युवा उमेर परिभाषा १५–२४ रहेका छन् । नेपालको सन्दर्भमा, युथ भिजन २०२५ कार्यान्वयन गर्न कार्ययोजना तर्जुमा भएको छ, (स्रोतः सार्क युवाहरुको एक अध्ययन शोधपत्र त्रिभुवन विश्वविद्यालय) । युवा नीति र दशवर्षे युथ भिजनको लक्ष्य हासिल गर्न यो कार्ययोजना ल्याएर नेपाल सरकार युवा मन्त्रालय राष्ट्रिय युवा परिषद मार्फत अगाडी बढाइरहेको छ । यस कार्ययोजनामा युवा विकासका लागि युवा उद्यम, शैक्षिक प्रमाणपत्रका आधरमा ऋण, विपे्रषण लगानी, युवा क्लब गठन र स्वयंसेवक परिचालन, खेलकुद विकास, नेतृत्व विकास, युवा बचाउ कार्यक्रम र पुनःस्थापना केन्द्र स्थापना लगायतका कार्यक्रम समावेश गरिएका छन् । यसमा केन्द्र, प्रदेश र स्थानिय तहसम्मको भूमिकामा जोड दिइएको छ । यसकारण युथभिजनको कार्यदिशालाई लक्षित गर्दै उक्त लक्ष्य प्राप्त गर्न सोही किमिसले हरेक वर्ष अनुगमन गर्दै युवा दिवसको अवसरसम्ममा समिक्षा सहित अगाडी बढीरहेको पाइन्छ । तर पनि राज्यले संरचना मात्रै नर्मिाण गरेको तर, संचरनामा रहेका निकायहरुले युवा सम्बन्धि कार्यहरुमा सामान्य प्रभाव समेत संघ, प्रदेश र जिल्लाहरुमा पार्न सकेको छैन । यसमा कार्यालय स्थापना गरेर केही कर्मचारीहरुको लागी कोटा व्यावस्थापन गरिएको जस्तो मात्रै भएको छ । यसलाई चलायमान गर्दै कम्तिमा युवाहरुको सारथी सरकारको युवा संयन्त्रहरुले गर्छ भन्ने विश्वास दिलाउन आवश्यक छ । चाहे समाजमा समस्यामा परेका युवाहरुको समस्या होस, वा शैक्षिक, स्वास्थ्य वा वैदेशिक रोजगारी वा अध्ययनको शिलशिलामा आइपरेको समस्याहरुको समाधान गर्न किन पहुँच नराख्ने ?
युवाहरूमा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी; युवाहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति; समानता एवं समतामूलक वितरणको सिद्धान्त; संवैधानिक सर्वाेच्चता, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवाधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता; जाति, भाषा र वातावरणीय सम्पदाको संरक्षण र सम्वद्र्धन तथा सह–अस्तित्व जस्ता आधारभूत मूल्य मान्यताहरूको प्रवद्र्धन गर्ने हेतु युवा नीतिले लिएता पनि बढी भन्दा बढी २० देखि २९ वर्ष समुहका युवाहरु बेरोजगार हुदैै आएका छन् । नेपालमा प्रति वर्ष झण्डै ५ लाख युवाहरु श्रम बजारका लागि तयार हुन्छन् तर यसको केहि प्रतिशतले मात्र रोजगारी पाएका छन्, बढीमा ५० हजार युवाहरु देशमा केही न केही कार्यमा संलग्न रहेका छन, बाँकी साढे ४ लाख युवाहरु भने विदेश जाने तयारीमा नै हुन्छन् । यो अवस्था ज्याँदै दुःखद पक्ष रहेको छ ।
खासगरी १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको बहुआयामिक विकासको अवस्थालाई विश्लेषण गरेर तयार पारिएको युवा विकास सूचकाङ्क (२०१६)मा विश्वका १८३ मुलुकमध्ये नेपाल ७७ औँ स्थानमा थियो । यसले नेपाललाई युवा विकासको मध्यम स्तरमै राखेको थियो र चीन (११८), भारत (१३३), बङ्गलादेश (१४६) र पाकिस्तान (१५४) औँ स्थानको तुलनामा राम्रो अवस्था दर्शाएको थियो । करिब ८ वर्ष वितिसक्दा समेत नेपालको युवाहरुको अवस्था सुधारिएको छैन । अझ झन् खस्किएको छ । बेरोजगारी दर र कुलत दरहरु सकारात्मक विकास हुनको साटै नकारात्मकता तिर नै बढ्दै गएको छ । बर्तमान विश्वको जनसंख्या ८ अर्ब बढी रहेको छ, भने युवाको जनसंख्या ३ अर्ब बढी रहेको छ । एसियामा कुल जनसंख्या ४ अर्ब ४५ करोड रहेको छ भने, युवा १५–३५ वर्षको संख्या २ अर्ब ७ करोड रहेको छ । (स्रोतः सार्क युवाहरुको एक अध्ययन शोधपत्र त्रिभुव विश्वविद्यालय) ।
नेपालको युवा जनसङ्ख्याको ठुलो हिस्सा यो उमेर समूहकै रहे पनि मुलुकले त्यसबाट प्राप्त हुने जनसाङ्ख्यिक लाभांश भने लिन सकिरहेको छैन । यसो हुनुमा युवामा गुणस्तरीय, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उधमशील वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय असमानता आदि नेपाली युवाका प्रमुख समस्या हून् । प्रतिवर्ष पाँच लाख व्यक्ति श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा मुलुकभित्र रोजगारीका यथेष्ट अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था छ । राष्ट्रिय अनलाइन खबरका अनुसार विगत ३ वर्षको अवधीमा २२ लाख युवा रोजगारीको लागी वैदेशिक श्रममा गएका छन् । त्यसमा हरेक महिना १ खर्ब २० अर्ब देखी ३० अर्ब सम्म प्रतिमहिना रेमिट्यान्स समेत देश भित्रि राखेको छ । तर यतिका धेरै श्रम गरिएको मेहनतको फल विकास भने विदेशमा नै हुन्छ । रेमिट्यान्स नेपाल भित्रीको केही महिनामा नै खाख्यान्न, कपडा फलफल लगायतको शिर्षकमा पुन विदेश नै पैसा फर्किन्छ । किनकी यो आर्थिक वर्ष २०८०÷०८१ मा मात्रै २३ अर्ब बढीको फलफुल आयात, साढे ४५ अर्बको खाद्यान्न आयात गरिएको तथ्यांक आएको छ । यसैगरी नेपालमा उत्पादन भएको प्याजले नेपालमा ३ महिना मात्रै ठेग्न सक्छ, बाँकी विदेशबाट नै आयात गरिन्छ । यसकारण जति नै रेमिट्न्यास भित्रिएता पनि, भित्रिएको केही महिनामा नै विदेशमा नै जाने हुँदा, दीर्घकालिन विकास, र व्यवस्थापनमा ज्याँदै चुनौति रहेको छ । यसरी रेमट्यिान्स भित्र्याउनेमा करिब ६० लाख युवा औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये करिब ७५ प्रतिशत अदक्ष कामदार छन् । यसले गर्दा उनीहरुको आम्दानी निकै कम छ । युवा अर्धबेरोजगारीको दर करिब ३६ प्रतिशत छ । युवासँग सम्बन्धित विषयलाई सम्बोधन गर्न राजनीतिक र सामाजिक दुवै क्षेत्रबाट आवाज उठाउने गरिएको भए पनि यो पर्याप्त भएको देखिँदैन । यसकारण युवाहरुको सवाल राज्यमा स्थापित गर्न र नेपाली युवाहरुलाई नेपालमा नै कारिन्दाको रुपमा स्थापित गर्न अबको युवा संस्था तयार हुनु पर्दछ ।
विगतको तथ्यांकलाई हेर्दा शिक्षा मन्त्रालयबाट स्वीकृतिपत्र लिएर ३० हजार विद्यार्थीहरु हरेक वर्ष विदेसिन्छन् । यसलाई आंकलन गर्दा वार्षिक ३० अर्ब भन्दा धेरै रुपैंयाँ बिदेसिने गरेको छ । यसरी अध्ययनका नाममा बर्षेनि विदेसिने विद्यार्थीहरु १७ देखि २५ वर्ष सम्मका हुन्छन् । यो ज्याँदै दुःखद कुरा हो । यसकारण आगामी माध्यमकि शिक्षा उर्तीण पश्चात प्लस टु उर्तीण गरेर विदेशीने प्रवृत्तिलाई रोक्नु राज्यले स्वरोजगार स्थापना गर्नु पर्दछ । देशमा आधारभूत सिप, आयआर्जनमूलक शिक्षामा ध्यान दिन आवश्यक छ । बर्तमान अवस्थामा गरिने विदेशी भाषामा घोकन्ते शिक्षाको कारण देशमा विद्यार्थीहरुले आफ्नो भविष्य देखेका छैनन् । तर तिनै विदेश जाने विद्यार्थीहरुले, विदेशमा पनि सामान्य होटलमा सामान्य भन्दा सामान्य काम गर्न बाध्य हुन्छ्न । साथै विदेशमा सामान्य काम गर्न समेत तयारी हुन्छन् । यो प्रवृत्तिलाई न्युनिकरण गर्न सबै नेपालीहरुले, अभिभावक, शिक्षक तथा नेतृत्वहरुले आफ्नो मनोविज्ञान सर्वप्रथम परिबर्तन गर्न आवश्यक छ । यसको लागी राजनीतिक स्थिरता न्युनतम आवश्यकता हो । यस बारेमा राजनीतिक नेतृत्वहरु, सरकार र सरकारी निकायहरुले समिक्षा गर्दै, कार्यान्वयन गर्न आवश्यक छ । यस बारेमा, यो अन्तर्राराष्ट्रिय दिवसले युवाहरुमा तागत दिओस संसारभरका युवाहरुमा हार्दिक शुभकामना छ ।
(लेखकः वर्ड ईन्डिजिनियस ककसका पूर्व सदस्य, वाईसियल नेपालका पूर्व केन्द्रिय सदस्य तथा आदिवासी जनजाति युवा महासंघको संस्थापक केन्द्रिय सचिव हुनुहुन्छ) ।